
२७ मंसिर,जुम्ला। जुम्लामा एमबीबीएस (डाक्टर) कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार एमबीबीएस कार्यक्रमको उद्घाटन गर्नुभएको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्णालीले स्वास्थ्य क्षेत्रको समृद्धि सुरु गरेको बताउनुभयो ।
उहाँले जुम्लामा एमबीबीएस सुरु हुनु भनेको देशकै खुसीकाे दिन भएको र कर्णालीको गौरवपूर्ण इतिहाससँगै प्रतिष्ठानले कर्णाली प्रदेशमा समृद्धि ल्याउने भन्दै शुभकामना दिनुभयो ।
राष्ट्रपति भण्डारीले ठूलो भूगोल रहेको तर विकासले पछि पारेको कर्णालीलाई अवसर दिएमा, यहाँका सम्पदाको संरक्षण र विकास भएमा राज्यकै समृद्धि हुनेमा दुई मत नरहेको बताउनुभयाे ।
आकस्मिक उद्धारको सेवा लिन अपिल
यस्तै उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आकस्मिक हवाई उद्धारमार्फत थुप्रै महिलालाई जोगाइएको र यसकाे सेवा लिन कर्णालीवासीलाई अपिल गर्नुभयाे ।
कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतिष्ठानलाई यहाँ पुर्याउन योगदान गर्ने तत्कालीन संविधानसभा सांसद नरेश भण्डारीलगायत सहयाेग गर्नेलाई धन्यवाद दिँदै कर्णालीलाई अन्य क्षेत्र भन्दा शिक्षा, स्वास्थ्यलगायतका संवेदनशील क्षेत्रमा दोब्बर बजेट विनियोजन गर्न राष्ट्रपति भण्डारी र नेपाल सरकारलाई अनुरोध गर्नुभयो ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री भवानीप्रसाद खापुङले प्रतिष्ठान स्थापना गर्दा पालिकासहित सबैले गरेको दुःखको प्रतिफल आज पाइएको भन्दै शुभकामना दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनामा दस्तावेज गर्न अनुरोध
कर्णाली प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले याे दिन कर्णालीका लागि फरक र बिरलै दिन भएको भन्दै प्रतिष्ठान यहाँ पुर्याउन योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयाे । यस्तै उहाँले राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको आयोजनामा दस्तावेज गर्न कार्यक्रममै अपिल गर्नुभयो । उहाँले प्रतिष्ठानका पहलकर्ता, सरकार, सरोकारवाला र स्थानीयवासीको सहयोगले प्रतिष्ठान कोशेढुङ्गा साबित भएको बताउनुभयो ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले धेरै कठिन परिस्थितिमा कर्णालीमा जन्मिएको यो प्रतिष्ठानको महत्त्व भिन्नै रहेको बताउँदै यसलाई शैक्षिक कार्यक्रमहरू उपलब्ध गराउन प्राथमिकता दिइएको बताउनुभयो ।
प्रतिष्ठानका संस्थापक रजिस्ट्रार श्याम लम्सालले स्थापनाकालको स्मरण गर्दै सरकार र स्थानीयवासीसँग गरिएको पहल र सबैको सहयोगले आज प्रतिष्ठान यहाँ पुगेको बताउनुभयो ।



karnalipress
२७ मंसिर २०७८, सोमबार ०७:४४