
बैशाख २३,कालिकोट । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले आफ्नो पक्षमा धेरै उम्मेदवार पार्न कालिकोटमा गठबन्धन टुटाएको छ । कालिकोटका ९ स्थानिय तह मध्ये ७ प्रमुख माओवादी आफैंले लिने गरी गठबन्धन गर्न खोजेको माओवादीले अन्य दलहरू त्यसमा सहमत नभएपछि गठबन्धन टुटाएको हो ।
अहिले कालिकोटमा माओवादी र एकीकृत समाजवादीले मात्र तालमेल गरेका छन् । प्रदेश गठबन्धन संयन्त्रको निर्णय अनुसार कांग्रेसका भागमा परेको महाबै गाउँपालिका अध्यक्ष आफैंले लिन माओवादीले एमालेलाई उपाध्यक्ष दिएको छ । समाजवादीको भागमा परेको शुभकालिकाको अध्यक्ष पनि माओवादीले आफैंले लिएको छ ।
जिल्लाको खाडाचक्रमा समाजवादीका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका कमलबहादुर शाहीलाई प्रमुख मानेर उपप्रमुखमा माओवादी केन्द्रका गणेशबहादुर शाहीलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, तिलागुफामा कांग्रेसले प्रमुख छाड्न नमानेपछि नेमकिपा सँग सहकार्य गर्नेगरी छलफल चलाइएको छ ।
तिलागुफमा नेपालि कांग्रेसका शंकरप्रसाद उपाध्यायले एमालेका महेन्द्रबहादुर शाहीको साथ रोजेका छन् । नरहरिनाथमा समाजवादीका धीरबहादुर बिष्ट अध्यक्षमा दोहोरिएका छन् । माओवादी केन्द्रका कमलबहादुर शाह उपाध्यक्षका उम्मेदवार छन् । सान्नीत्रिवेण गाउँपालिकामा माओवादीकै डम्मरबहादुर शाही अध्यक्षका उम्मेदवार दोहोरिएका छन् । माओवादीका महेश केसी स्वतन्त्र उम्मेदवार कायमै छन् ।
रास्कोट,पचालझरना र पलाँतामा पनि माओवादी केन्द्रले अध्यक्ष लिने गरी एकीकृत समाजवादीलाई साथमा लिएको छ । कांग्रेसलाई समावेश गरिएको छैन । गठबन्धन दलको प्रदेशस्तरीय निर्णय नमानेर माओवादी केन्द्रले चलाखी गरेको नेपाली कांग्रेस महासमिति सदस्य भूपेन्द्रजंग शाहीले बताए ।



karnalipress
२३ बैशाख २०७९, शुक्रबार १९:०८