
डोटी – डोटीको सदरमुकाम सिलगढीबाट आज सोमवार बाजुरामा रहेको बडीमालिका मन्दिरका लागि एक सरकारी डोल पठाइएको छ । जनैपूर्णिमाका दिन लाग्ने मेलाका लागि सरकारी डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो ।
सिलगढीमा रहेको रुद्रध्वज गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा त्यो डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरामा रहेको बडीमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।
राणाकालदेखि तत्कालीन डोटी गौणा अर्थात् जिल्ला कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आए अनुसार आज सरकारी डोल पूजाआजा गरी सरकारी खर्चमै पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले बताउनुभयो ।
सरकारी डोल बडीमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ताको समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडीमालिकाका लागि अछाम, बाजुरा, बझाङ र डोटीबाट बर्सेनि डोल लैजाने चलन रहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडीमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र भएका कारण जनै पूर्णिमामा मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो ।
समुद्री सतहदेखि झन्डै चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका जान जिल्ला सदरमुकाम सिलगढीबाट एक दिन गाडीको यात्रा तथा दुई दिन पैदलयात्रा गर्नुपर्ने सिलगढीका स्थानीयवासी तेजबहादुर खड्काले बताउनुभयो ।
सिलगढीबाट डोलको यात्रा सुरु हुँदादेखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडीमालिकाले सबैलाई आशीर्वाद देऊन् भन्ने कामनासहित ठाउँ–ठाउँमा पानीका घडा र फूलमालाले स्वागत गर्ने गरेको सरकारी डोल लगेर बडीमालिका जान लाग्नुभएका मालपोत कार्यालय डोटीका कर्मचारी नारद गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीर्थयात्रीको यात्रा सफल होस् भन्ने कामनासहित ठाउँ–ठाउँमा फूलमाला र पानीका घडा राखेर स्थानीयवासीले स्वागत गरेका हुन्छन्, फर्किने समयमा हामीले ती घडामा बडीमालिकाको प्रसाद राखेर आउँछौँ ।’
वर्षमा धेरै समय हिउँ पर्ने र सितिमिति नपग्लिने बडीमालिकामा बर्सेनि जनैपूर्णिमाको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् ।



karnalipress
२५ श्रावण २०७८, सोमबार २०:३८