जुम्ला कांग्रेसको सभापतिमा पाँचजना आकाङ्क्षी

भाद्र २२,जुम्ला। नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्ला सभापति पदमा नेता, कार्यकर्ताको दौड बढेको छ ।जुम्ला जिल्ला सभापतिमा वर्तमान सभापति दीपबहादुर शाहीसहित पाँच जना आकाङ्क्षी देखिएका छन् । पार्टी सचिव कर्णबहादुर शाही, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, महाधिवेशन प्रतिनिधि लंकबहादुर शाही र नेता खड्क सेजुवालको नाम सभापति पदको चर्चा देखिन्छ ।

जिल्ला अधिवेशन नजिकिँदै गएपछि जिल्ला सभापतिका लागि पाँच जनाकाे नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि अहिले कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङ तीव्र चलिरहेको छ वर्तमान सभापति दीपबहादुर शाही रामचन्द्र पौडेल पक्षतर्फका हुनुहुन्छ ।

सचिव कर्णबहादुर शाहीका अनुसार देउवा पक्षबाट आफूसहित लंकबहादुर शाही, भक्तबहादुर रोकाया, खड्क सेजुवालसहितका नेताहरूको नाम आएको छ । जिल्ला सभापतिको आकाङ्क्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिन थालेका छन् ।