
भाद्र २४,कालीकोट — वैशाखदेखि फैलिएको कोरोना महामारीको दोस्रो भेरियन्ट जाडो नजिकिँदै गर्दा ओरालो लाग्न थालेको छ । समुदायस्तरसम्म फैलिएको कोरोना भदौ लागेपछि ओरोलो लाग्न थालेको हो । साउन मसान्तसम्म दैनिक करिब ३० जना संक्रमित भेटिएको कालीकोटमा भदौ लागेपछि संक्रमित हुनेको संख्या १५ कटेको छैन ।
भदौ १७ गते १३ जनामा संक्रमण देखिएकोमा त्यसयता दैनिक एक/दुई जना मात्र संक्रमितको पहिचान हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. रत्नवीर सुनारले बताए । उनका अनुसार कुनै दिन त संक्रमितको संख्या शून्यमा झर्ने गरेको छ । भदौ २२ गते एन्टिजेन किटद्वारा परीक्षण गर्दा ५ जनामा कोरोना भेटिएकोमा २३ गते एक जना मात्र संक्रमित थपिए ।
सुरुका ४ महिनाको तुलनामा भदौ लागेपछि कोरोना महामारीको संक्रमण ओरालो लागेको उनले बताए । कोरोना संक्रमणको जोखिम घट्न थालेपछि जिल्लाभरिका विद्यालय पनि खुलेका छन् । कोरोना कहरमा राजनीतिक दलका सभा, सम्मेलन, प्रदर्शन, देवताका मन्दिरमा पूजापाठलगायत क्रियाकलाप भने जारी थिए । विद्यालय मात्र बन्द गर्दा बालबालिकाको पढाइ प्रभावित भएको भन्दै स्थानीय तहहरूले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन् । कोरोनाको महामारी पनि घट्दै गएकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लासभाले विद्यालय खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार स्वास्थ्य मापदण्डको पालना गर्दै दैनिकी सामान्य बनाउन स्थानीयलाई अनुरोध गरिएको छ ।
वैशाखयता जिल्लामा संक्रमितको संख्या २ हजार नाघेको छ । जिल्लामा पीसीआर मेसिन नहुँदा स्वाब परीक्षण गर्न जुम्ला र सुर्खेत पठाउनुपर्ने भएपछि एन्टिजेन किटबाटै परीक्षको व्यवस्था मिलाइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लाका सबै स्थानीय तहले एक/एक वटा आइसोलेसन सेन्टर बनाएर संक्रमितको उपचार गर्ने व्यवस्था मिलाएको कार्यालयकी सूचना अधिकारी गौरा घर्तीमगरले बताइन् । उनका अनुसार अहिले अधिकांश संक्रमितहरू होम आइसोलेसनमै छन् । १ हजार २ सय १ पुरुष र ९ सय २५ महिला गरी २ हजार १ सय २६ जना संक्रमित भएकोमा १५ जनालाई जिल्लाबाहिर रेफर गरिएको थियो । कोरोनाका कारण कालीकोटमा ७ जनाको मृत्यु भएको कार्यालयको तथ्यांक छ ।
गाउँमा अझै ज्वरोका बिरामी भए पनि परीक्षणमा समस्या भएको ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीको गुनासो छ । बुधबारसम्म कालीकोटमा सक्रिय संक्रमितको संख्या २८ जना मात्र छ । ६ जना जिल्ला सदरमुकाम मान्मस्थित कोभिड विशेष अस्पतालमा छन् भने अन्यको होम आइसोलेनमा उपचार भइरहेको छ । जिल्लामा २० हजार ७ सय १० जनाले कोरोनाविरुद्धको पहिलो खोपको मात्रा लगाइसकेका छन् भने दोस्रो मात्रा लगाउनेको संख्या १४ हजार ५ सय २० जना छ । यसैबीच, कोभिड–१९ को प्रतिकार्यका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत प्लान इन्टरनेसनलले झन्डै ३० लाख रुपैयाँका स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटको मागअनुसार खरिद गरी आएको स्वास्थ्य सामग्री कोभिड अस्पताल मान्म, रास्कोट नगरपालिका, नरहरिनाथ र सान्नीत्रिवेणी गाउँपालिकाले प्राप्त गर्ने गरी हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय प्रमुख अनिपाल शाहीले अस्पताल र स्थानीय तहलाई १० कन्सन्टेटर, १५ वटा अक्सिजन सिलिन्डर, २ सय ९५ थान पीपीई सेट, ५ सय थान कोरोना परीक्षण गर्ने एन्टिजेन किटलगायत सामग्री प्रदान गरे । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार मान्मस्थित कोभिड–१९ विशेष अस्पताललाई करिब १३ लाख र अन्य ३ वटा स्थानीय तहलाई १७ लाख रुपैयाँको सामग्री प्रदान गरिएको बताए ।by-ekantipur



karnalipress
२४ भाद्र २०७८, बिहीबार १८:१५