बुटवलका मेयरलाई आफ्नै कार्यकर्ताले मुक्का हाने

असोज ४,काठमाडौं।  बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा गएको पहिरो अवलोकनका लागि जानुभएका मेयर सुवेदीमाथि अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहनुभएका गणेश पंगेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएको छ ।

पहिरो पिडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको पंगेनीले बताउनुभएकाे छ । प्राविधिकसहितको टोली लिएर मेयर सुवेदी पहिरो गएको क्षेत्रमा जानुभएका बेला घटना भएको उपमहानगरपालिकाले बताएको छ ।

गएकाे भदौ १३ गते पहिरो खस्दा ज्योतिनगरमा दुई दर्जन घरमा क्षति पुगेको थियो । आजको पहिरोले त्यहाँ थप नाै घरमा क्षति पुर्‍याएकाे छ ।

उपमहानगरपालिकाका मेयर सुवेदी एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्षसमेत हुनुहुन्छ । सुवेदीमाथि मुक्का प्रहार भएको घटनाको एमाले बुटवल उपमहानगर कमिटीले निन्दा गरेको छ ।