गुल्मीमा जीप दुर्घटनाः तीन जनाको मृत्यु, पाँच घाइते

गुल्मी। गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४४९० नम्बरको जीप गएराति ११ बजेतिर गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १० छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मुसिकोट नगरपालिका २ का ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षका राधिका थापा र १९ वर्षका संगिता सुनारको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।

जीप चालकसहित घाइते पाँच जनाको जिल्ला अस्पताल तम्घासमै उपचार भइरहेको छ । जीप सडकदेखि झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।