कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

टीकापुर : एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ। लम्की चुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो।

टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन÷चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको जनाएको छ।

प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान र अपराधीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए।

घटनाको नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानबाट घटनामा दुई समूहबीच झडप भएको हुन सक्ने खुलेको सापकोटाले बताए।

मृतक बडुवालका आफन्त एवं संविधानसभा सदस्य भगत बडुवालले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै निष्पक्ष अनुसन्धान गरेर दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। ‘घटनामा संलग्नहरुको पहिचान खुलिसकेको छ, तत्काल पक्राउ गरेर कारबाही गर्न जोडदार माग गर्दछु’, उनले भने।

चक्कु प्रहारबाट युवकको ज्यान गएपछि टीकापुरको शान्ति, सुरक्षामाथि प्रश्न उठेको छ। दुई साताअघि टीकापुर नगरपालिका वडा नं. ८ मा समेत एक युवकको चक्कु प्रहारबाटै ज्यान गएको थियो।