कर्णालीका मुख्यमन्त्री शाहीले गरे एमालेको प्रशंसा

माघ १६,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिपक्ष एमालेको प्रशंसा गरेका छन् । प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले एमालेकाे प्रशंसा गरेका हुन् ।

सदनमा मुख्यमन्त्री जीवनबहादुर शाही एमाले संसदीय दलका नेता यामलाल कँडेलले दिएको मन्तव्यले आफ्नो छाति गर्वले फुलेको पनि टिप्पणी गरे ।

प्रदेशमा रहेको २४ निर्वाचन क्षेत्र र ती क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरु नै जनताका लागि बोल्ने काम गर्ने भएकाले सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । ‘प्रतिपक्ष भनेको सरकार कुन् बाटोमा हिडेको छ, त्यो निगरानी गर्नु हो’ उनले भने, ‘यसको काम ‘वाच डक’ को पनि हुन्छ ।’

उनले अर्थ विधेयक अन्य विधेयक जस्तो नभएको बताउँदै सकेसम्म प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर सुधार गर्न सकिने ठाउँमा सुधार गर्न तयार रहेको बताएका छन् ।

कानूनले वर्जित नगरेसम्मका लागि सरकार लचकताका साथ अघि बढ्ने बताउँदै प्रमुख प्रतिपक्षले निःस्वार्थ ढंगले सुशासन कायम गर्नका लागि बोलेको भन्दै उनले नेता यमलाल कँडेलको प्रशंसा गरेका थिए।