आस्थाका मूर्ति खुला आकाशमुनि

२० माघ दैलेख।  संरक्षणको अभावले दैलेखको पादुका मन्दिरका मूर्ति जीर्ण बन्दै गएका छन् । संघ र प्रदेश र स्थानीय सरकार मूर्ति संरक्षणमा चासो नदिँदा मूर्ति वर्षौंदेखि खुला आकाशमुनि छन् । र प्रदेश सरकारले दुल्लुनगर पालिकामा–९ मा पर्ने पादुकास्थान दैलेख पञ्चकोशी तीर्थस्थलमध्ये अन्तिम तीर्थस्थल हो ।

कुनैबेला १६० वटा मन्दिर रहेको पादुकामा एउटा पनि मन्दिर छैन । बाँकी रहेका मन्दिर जीर्ण छन् । झारपात उम्रिएर जीर्ण मन्दिर खरमेलाजस्ता देखिन्छ । त्यो क्षेत्रमा कालिका मन्दिर नयाँ निर्माण गरिएको छ भने, धुनीघरलाई मर्मत गरिएको छ, जहाँ मन्दिरमा आएका धर्मालम्बी र मन्दिरका पुजारी बस्ने गर्छन् ।

मन्दिर नहुँदा पादुका स्थानका विभिन्न ढुंगा मूर्ति छरपस्ट खुला आकाशमुनि छन् । छरिएर राखिएका अधिकांश मूर्ति भाँचिएका छन् । बाँकी रहेका मूर्तिमा लेउ, झ्याउसमेत लागेर केको मूर्ति हो भनेर आंकलन गर्न सकिने अवस्था छैन । खुला आकाशमुनि छरपस्ट मूर्ति हुँदा पादुकास्थानबाट अहिलेसम्म सातवटा मूर्ति चोरी सकेका छन् । चोरिएका मूर्ति अहिलेसम्म फेला परेका छैनन् । २०७६ मंसिरमा अष्टधातुको गणेशको मूर्ति चोरिएको थियो ।

जिल्ला सदरमुकामबाट मध्यपहाडी लोकमार्ग भएर जाँदा १ घण्टामै पादुका मन्दिर क्षेत्रमा पुगिन्छ । धार्मिक र पुरातात्विक रूपमा पादुका शिरस्थान, नाभीस्थान, कोटिला र धुलेश्वर जतिकै महत्वपूर्ण मानिन्छ । पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहारसमेत रहेको त्यहाँका अवशेषहरूले देखाएका छन् । श्रीस्थान र नाभीस्थानजस्तै पादुका मन्दिरमा सदियौंदेखि निरन्तर बल्ने ज्वाला मन्दिर २०१३ सालमा देवघाटमा आएको भीषण बाढीले बगाइदिएपछि हाल यस ठाउँमा ज्वाला बल्न छोडेको छ ।

महत्वूर्ण मूर्तिहरू रहेको यस क्षेत्रमा पश्चिम नेपालका तत्कालीन शक्तिशाली शासक अशोक चल्लको पालामा पादुकाको २ मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुंगाको स्तम्भमा ईं.सं. १२४० मा कुदिएको एसियाकै दुर्लभ मानिने बुद्धको मूर्तिसँगै दुर्लभ चारहाते गणेशको मूर्तिसमेत रहेको छ ।

स्वस्थानी ब्रतकथाअनुसार सत्ययुगमा महादेवकी पत्नी सतीदेवीको मृत्यु भएपछि महादेवले सतीदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सतीदेवीको कोख पतन भई कोटिला, शिर पतन भई श्रीस्थान, नाभी पतन भई नाभीस्थान, पाउ पतन भई पादुका र बाँकी अंश पतन भई धुलेश्वर शक्ति पीठहरू रहन गएको भन्ने उल्लेख गरिएको छ । पञ्चकोसी तीर्थ यात्रा पूरा गरे जीवनमा गरेका पाप नष्ट हुने र पुण्य प्राप्त हुने भक्तजनहरूको विश्वास रहेको छ ।

कोभिडको महामारीमा भक्तजन आउन सकेनन् । मन्दिरमा आउने भक्तजनलाई बासको समस्या भएकाले सोचेजस्तो नआउने गरेको महन्त देवीनाथ योगीको भनाइ छ । पादुका पाँच थान पञ्चकोसी तीर्थस्थलमध्ये सबैभन्दा बढी मूर्ति रहेको मन्दिर पादुकास्थान हो ।

खुला आकाशमुनि मूर्ति रहेकाले मन्दिरमा पुग्ने भक्तजनले चलाउँदा मूर्ति भाँचिएका छन् केही मूर्ति चोरी भएका छन् । कति मूर्ति थिए आंकलन गर्न सक्ने अवस्था छैन भने मूर्तिमा लेउसमेत लागेको छ ।

धार्मिक सम्पदा भनेर चिनिएका दैलेख पञ्चकोसी तीर्थस्थलाई जीवित राख्न संघीय, प्रदेश र स्थानीय सरकारले मूर्तिको महत्वलाई धार्मिक सम्पदालाई जीवित राख्न गुरुयोजना बनाएर लागिपरे मात्र धार्मिक सम्पदाको संरक्षण हुने देखिन्छ । मन्दिरनजिकै क्रसर सञ्चालन गर्दा दिनुहँ देवघाट खोलाले बहाव बदलेको छ । राजधानीमा समाचार छ ।