एमसीसीविरुद्ध कालिकोटमा विरोध प्रदर्शन,

ललित बिष्ट फागुन १,कालिकोट। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध कालिकोटमा भव्य प्रदर्शन भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका भातृ संगठनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । यही माघ १८ गते काठमाडौंमा बसेको सचिवालयको बैठकको निर्णय अनुसार नेकपा एकिकृत समाजवादी पार्टीका मोर्चा संगठनहरुले फागुन १ गतेलाई एमसीसी सम्झौतामा रहेका राष्ट्रिय हित विपरीतका प्रावधानहरु संशोधन गरेर मात्र संसदबाट अनुमोदनका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरिएको हो ।

कालिकोटको सदमुकाम मान्मको जिरोप्वाईन्ट देखि प्रतिमा चोकसम्म एमसीसी विरुद्धका नाराहरुसहित र्याली गरी प्रतिमाचोकमा कार्यक्रम सम्पन्न भएको छ । समाजवादी प्रेस संगठन, युवा संघ नेपाल, अनेरास्ववीयू, अखिल फोर्स लगाएतका संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका छन् ।

नेकपा एकिकृत समाजवादीका कालिकोट इन्चार्ज कुर्मराज शाही, जिल्ला अध्यक्ष विश्वराज बम, उपाध्यक्ष चित्रसिंह गाउँले, नेता कमल शाही, महिला नेतृ किस्नकला पाण्डे लगाएतका पार्टीका नेता तथा कार्यकर्ताहरु सहित विभिन्न मोर्चामा आवद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । एमसीसीमा रहेका बुँदाहरु मध्येबाट राष्ट्रको हित विपरीत रहेका प्रावधान संसोधन गरेर मात्र एमसीसी अगाडि बढाउनुपर्ने समाजवादी प्रेस संगठन कालिकोटका अध्यक्ष किरण अधिकारीले बताए ।

विद्यार्थीको तर्फबाट बोल्दै अनेरास्ववीयूका स्थाई कमिटि सदस्य हिक्मतजंग मल्लले नेपालको परराष्ट्र निति देशको संविधान अनुसार पञ्चसिलको सिद्धान्तमा आधारित रहेको बताउदै हिन्द प्रशान्त रणनीति २०१८ मा नेपाल समावेशी भएको कुरा, हिन्द प्रशान्त रणनीति १ जुन २०१९ को पृष्ठ ३८ मा उल्लेख रहेको बताए । उनले भने, ‘हामी पञ्चसिलको सिद्धान्त मान्छौँ भने के कति दृष्टिकोणले नेपाल साझेदार भयो यो गम्भीर चुनौती भएकाले एमसीसीमा राष्ट्रको विपरित रहेका बुँदाहरु सच्याएर अगाडि बढ्नु पर्छ ।’

युवा संघको तर्फबाट बोल्दै केशन शाहीले एमसीसी नेपाली जनताको हितका लागि बनाउने हो,भने थुप्रै बुँदाहरु सच्याउनु पर्ने र नेपाली जनताको माग अनुसार एमसीसीको काम थाल्नु पर्ने बताए । उनले भने नेताहरुको एकलौटी मन विचारबाट एमसीसी पास हुन सक्दैन भन्दै यद्यपि त्यस्तो भयो भने सडकमा उत्रिएर थप विरोध गर्ने चेतावनी दिए । विरोध प्रदर्शन कार्यक्रमको सँचालन अनेरास्ववीयूका जिल्ला अध्यक्ष अमित मिलन शाहीले गर्नु भएको थियो ।