रेखा थापाले गरिन् जाजरकोटका शाहीसँग कोर्ट म्यारिज

२ फाल्गुन,काठमाडौं । अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन् । काठमाडौं जिल्ला अदालतमा दुईजनाले कोर्ट म्यारिज गरेको रेखा थापाले बताइन ।

शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए । रेखा र बलरामबीच दुई वर्षको उमेर अन्तर छ । शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।

गत माघ ११ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको स्रोतले जनाएको छ । तर, रेखाले चाहिँ बिहेको खबरलाई मिडियासामु गुपचुप राख्दै आएकी थिइन् । उनीहरुबीच बैशाखमा बिहे हुने जनाइएको थियो ।

स्रोतका अनुसार माघ २८ गते काठमाडौंस्थित घरमै दुईजनाले विधिवत बिहे गरेका थिए । सानो पारिवारिक जमघटबीच उनीहरुबीच बिहे भएको जनाइएको छ ।

रेखाको बिहेलाई लिएर असन्तुष्ट आमा सरस्वती चाहिँ केही समयदेखि बिराटनगरमा बस्दै आएकी छिन् । बिहे दर्ता भएपछि मात्र रेखाले आमालाई यसबारे जानकारी दिएकी थिइन् ।

शाही गैरआवासीय नेपाली भनिएपनि कुन देशमा बसोबास गर्छन् भन्ने चाहिँ खुलेको छैन । उनी भारतमा जन्मिएका थिए । शाही पर्यटन पेशामा संलग्न रहेको र मध्यमवर्गीय परिवारका रहेका जनाइएको छ ।

हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा जस्ता फिल्ममा केन्द्रिय भूमिकामा अभिनय गरेकी रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् । हालै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिएर पराजित समेत भएकी थिइन् ।