दैलेखमा प्रहरीबाट कुटिए सेवाग्राही

२ फाल्गुन सुर्खेत ।  जिल्ला प्रहरी कार्यालय दैलेखमा सेवा लिन गएका एक सेवाग्राही प्रहरीबाट कुटिएका छन् ।  हिजो (आइतवार) सेवा लिन गएका नारायण नगरपालिका–६ बसपार्कका ओम रेग्मी दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजित सुनारबाट कुटिएका हुन् ।

इन्स्पेक्टर सुनारले सेवाग्राही रेग्मीलाई दुव्र्यवहार गरि कुटपिट गरेको भिडियो समेत बाहिरिएको छ । उक्त भिडियोका अनुसार सुनारले दादागिरी देखाँउदै आफ्लाई कसैले पनि कानून र कामको बारेमा जानकारी नदिनभन्दै सेवाग्राहीलाई अपशब्द प्रयोग गरेका छन् ।

पीडित रेग्मीका अनुसार इन्स्पेक्टर सुनारले प्रहरीले नागरिकलाई दिने मुस्कानसहितको सेवाको बर्खिलाप मुक्का प्रहार गरेको हुन् । रेग्मीले चार महिनाअघि घर अगाडिबाट हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा निवेदन दिएको र प्रहरीले चासो नदेखाएपछि आफैँ विभिन्न माध्यमबाट फेला पारेको बताए ।

हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा दिएको निवेदनको सुनुवाइ हुनु त परको कुरा हो चार महिना लगाएर मोबाइल आफैँले भेट्टाएपछि प्रहरीलाई जानकारी गराऔँ भेटाउने र हराउने दुवै जनाको साइन गराएर मोबाइल बुझ्छुभन्दा इन्स्पेक्टरबाट कुटाई खानुपर्‍यको उनले बताए ।

आफुले हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनका आधारमा भेट्टाउने र बुझ्नेको साइन गराएर मात्र मोबाइल बुझ्ने बताए पछि  इन्स्पेक्टर सुनारले आफूलाई कानुन नसिकाउन भन्दै अपशब्द बोलेको रेग्मीले बताए ।