
ललित बिष्ट जेठ २३,कालिकोट। दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ३ लेक गाउँकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिको छ। २२ वर्षीय संगिता नेपालीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत पठाएको हो ।
सुत्केरी हुन नसकेकी नेपालीलाई स्वास्थ्य चौकी राकममा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले हेलिकप्टर मार्फत सुर्खेत रेफर गरेको नगरपालिकाका उपमेयर कल्पना थापाले बताईन् ।
समयमै स्वास्थ्य सेवा नपाएकै कारण ग्रामीण क्षेत्रका सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउँनु परेको छ । विकट क्षेत्र, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु,गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा समस्या भोग्दै आइरहेका छन् ।
नागरिकका यस्ता समस्यालाई मध्यनजर गर्दै आठबिस नगरपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। गर्भवती र सुत्केरी बाहेकका अन्य व्यक्तिलाई भने सःशुल्क सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर उद्धार गरिंदै आएको छ। यो कार्यक्रम अन्तर नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने गरिन्छ ।
सुत्केरीको उद्धारमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेल,निवर्तमान मेयर खड्गराज उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर शाही,मेयर तर्कबहादुर बडुवाल,उपमेयर कल्पना थापा,स्वास्थ्य संयोजक देवराज तिमेलसेना लगाएतले समन्वय गरेका थिए।
karnalipress
२३ जेष्ठ २०७९, सोमबार १८:५६