
साउन ३०,कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका—११ बराँतुका हरिचन्द्र गिरिले यो वर्ष झन्डै १ रोपनीमा चिनो खेती गरेका छन्। उनले लगाएको चिनोको उत्पादन पनि राम्रो भएको छ। कर्णालीको रैथाने बाली चिनोकोे बजारमा माग बढ्न थालेपछि कर्णालीका किसान चिनो खेतीमा हौसिएका छन्। ‘बजारमा माग थामि नसक्नु छ। अहिले माग पुरा गर्न सक्ने अवस्था छैन्। पाखो बारीमा फल्ने चिनोका लागि खासै दुःख गर्नुपर्दैन। ’ उनले भने।
कर्णालीमा घुम्न आउने पर्यटकले समेत चिनोको परिकार निकै रूचाउन्छन्। तर, मागअनुसार चिनो उत्पादन हुन सकेको छैन। एक दशक अघिसम्म कर्णालीका नागरिकले जौ,कोदोपछि सबैभन्दा धेरै चिनो,कागुनु,फापर,सिमी खेती गर्थे। तर, उपभोग हुन छाडेपछि खेती नै गर्न छाडेका हुन्। तर, अहिले माग बढी भएको र उत्पादन कम हुँदा पुनः किसान चिनो खेतीतर्फ आकर्षित भएका छन्।
जुम्लाको तिला गाउँपालिका–८ का पन्ना रावत एक महिनाअघि एक क्विन्टल चिनो लिएर खलंगा आइपुगे । बजारमा चिनो बिक्छ कि बिक्दैन भन्ने उनलाई अन्योलका थियो । उनि बजार पुग्नेबित्तिकै चिनो बिक्रि भयो। १५ हजार हातमा आएपछि उनले खुसी हुँदै भने,‘चामल त चिनोको पनि बिक्दो रहेछ । गाउँमा गरिबको खानाका रूपमा हेरिन्छ । तर चिनो त मार्सी चामलभन्दा महँगो रहेछ ।’ जुम्लामा चिनोलाई मुरी भनछन्।
कर्णालीका अधिकांश जिल्लामा लगाइने वाली चिनो अहिले लोप हुने अवस्थामा पुगेको छ । सिचाईको सुविधा नभएका पाखो वारीमा लगाइदै आइएको चिनो खेती घट्दै गएको छ । समुन्द्र सतह बाट १५ सय देखि ३ हजार मिटरको उचाईमा चिनो खेती गरिन्छ ।
चिनो कर्णालीका हिमालि जिल्लाहरुमा फल्ने खाद्यबाली हो। कर्णालीको कालिकोट,जुम्ला,मुगु,हुम्ला, डोल्पालगायत जिल्लामा चिनो अत्याधिक फल्छ ।
चिनोको भातभन्दा खिर झनै स्वादिलो हुन्छ ।सुर्खेत,नेपालगन्ज र काठमाडौंको बजारमा दुई सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँ किलोमा समेत चिनो बेच्ने गरिएको स्थानिय जिवन गिरिले बताए । उनले भने ‘बिना औषधि सुगर निको पार्ने सजिलो उपाय चिनोको भात हो। परिकार मिठो हुने र स्वास्थ्यका लागि पनि राम्रो भएकाले यसको माग बढेको हो। यस्तै चिनोको सेवनले स्मरण शक्ति वृद्धि गर्ने,उच्च रक्तचाप घटाउने,हड्डी बलियो बनाउन मद्दत गर्छ।’
अनिकाल परेपछि यहाँका नागरिकले भोक टार्न यही चिनोको चामल खाने गर्थे।‘जात फाल्नु चिनोको भातमा’ भन्ने उखान अहिले पनि कर्णालीमा प्रचलित छ। यसको अर्थ हुन्छ, धानको भात खाने हैसियत नभएकाले मात्र चिनोको चामल प्रयोग गर्छन्।
karnalipress
३० श्रावण २०७९, सोमबार ११:५५