सेनेटरी प्याड खरिदमा अनियमितता

ललित विष्ट भाद्र २६, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याड अनियमितता गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरुलाई वितरण गर्नकालागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैया अनियमितता भएकोे हो ।

होलसेल खरिदमा सेनेटरी प्याडको बजार मुल्य ३० देखि ३५ भएपनि नगरपालिकाले खरिद गरेको प्याडको ४५ रुपैया ९५ पैसा मुल्य परेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले नेपालगंन्जमा रहेको कलमा सर्जिकल र सुर्खेतको निमित सर्जिकलबाट सेनेटरी प्याड खरिद गरेको हो ।

नगरपालिकाले १० लाखको लागतमा १५ हजार प्याड खरिद गरेको स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए । उनले दिएको जानकारी अनुसार,१५ हजार प्याडको खरिद मुल्य हेर्ने हो भने ६ लाख ८९ हजार २ सय ५० हुन्छ । तर नगरपालिकाबाट १० लाख भुक्तानी भएको छ ।

नगरपालिकाले जुन प्याड खरिद गरेको छ त्यसको बजार मुल्य ३५ राख्ने हो भने,५ लाख २५ हजार हुन आउछ । नगरपालिकाले १० लाखमा खरिद गरेको प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैया अनियमितता भएको पाईन्छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले २०७८ माघ २ गते खरिद गरेको प्याड नागरपालिका भित्रका माध्यमिक विद्यालयमा वितरण गरिएको थियो । वितरण गरिएको प्याड पनि महिनावारी उमेर समुहका छात्राले पाउन सकेका छैनन्।

अहिले विद्यालयले प्याड विद्यालयको गोदाममा थन्काएर राखेका छन् । केही प्याड त मुसाको बासस्थान समेत भएको छ । नगरपालिकाले राखेका विद्यालय नर्सहरु नियमित विद्यालयमा नजाँदा छात्राले प्याड पाउन नसकेका हुन् ।

कोटेसन माग गरेर प्याड खरिद गरिएको नगरपालिकाले जनाएको छ। १५ हजार प्याड १० लाखमा खरिद गरी विद्यालयहरुमा वितरण गरेको स्वास्थ्य शाखाले दावि गरेको छ ।