सामाजिक सुरक्षा भत्ताको नयाँ दर सार्वजनिक

१३पुष, कालिकोट । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ ।

गत बुधबार मन्त्रिपरिषद् बैठकले तत्कालीन अर्थमन्त्री पौडेलले बजेटमार्फत चालु आर्थिक वर्ष २०७८/०७९ का लागि बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने निर्णय लिएको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गरेको करिब एक साता पुग्न लाग्दा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले ३३ प्रतिशतले वृद्धि भएपछिको नयाँ सामाजिक सुरक्षा भत्तादर सार्वजनिक गरेको हो ।

अर्थमन्त्रीले ९ प्रकारका सामाजिक सुरक्षा भत्तादर ३३ प्रतिशतले वृद्धि गर्ने भनिए पनि वृद्धभत्ता भने बजेट बक्तव्यमार्फत नै ४ हजार पुर्‍याउने घोषणा गरेका थिए । त्यसैअनुसार रकम निर्धारण गरिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिले ३ हजार रूपैयाँ मासिक भत्ता पाउने गरेकोमा ३३ प्रतिशतले वृद्वि गर्दा ९ सय ९० रूपैयाँ बढेर ३ हजार ९ सय ९० हुन आउँछ । तर, यसलाई बजेट वक्तव्यमार्फत नै ४ हजार पुर्‍याइएपछि त्यही कायम भएको छ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि मात्र १ खर्ब रूपैयाँ विनियोजन भइसकेको छ । गत आवमा ६७ अर्ब ५० करोड विनियोजन गरिएको थियो ।